Tuesday, June 4, 2013

घुस खुवाउने नेपाली वकिल अमेरिकामा पक्राउ

२१ जेठ, काठमाडौं । अमेरिकामा सरकारी अधिकारीहरुलाई घुस खुवाउन खोजेको आरोपमा एक नेपाली वकिलसहित दुई जना नेपाली पक्राउ परेका छन् । अमेरिकाको मेरिल्याण्डस्थित संघीय ग्राण्ड जुरीले एक आप्रवासन अधिवक्ता र उनका चार जना ग्राहकमाथि सरकारी अधिकारीलाई घुस खुवाउन खोजेको आरोपमा मुद्दा दायर गरेको युएस इमिग्रेसन एण्ड कस्टुम इन्फोर्समेन्ट डिभिजनले जनाएको छ ।
पक्राउ पर्नेमा मेरील्याण्डका अधिवक्ता नेपाली मूलका ५९ वर्षीय किरन देवान समेत रहेका छन् उनले देवान एण्ड एसोसिएट्स नामको ल फर्म संचालन गर्दै आएका थिए । त्यस्तै अर्का नेपाली ५१ वर्षका नारायण थापा समेत रहेका छन् । पक्राउ पर्नेमा अमजाद इसरार, मोहम्मद खान र खाजरादार रहेका छन् । उनीहरु पाकिस्तानका नागरिक हुन् ।
वैधानिक स्थायी बसोबासको स्विकृति, रोजगारीको अधिकार सम्बन्धि कागजातका साथै ग्रिन कार्ड प्राप्त गर्नका लागि उनीहरुले आप्रवासन कार्यालयका कर्मचारीलाई घुस खुवाउन खोजेको आरोप लागेको हो । अमेरिकी आप्रवासन तथा कस्टम इन्फोर्समेन्ट कार्यालय -आइ सि इ) , होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन (एच एस आइ) बाल्टिमोर, अमेरिकी नागरिकता तथा आप्रवासन सेवा -युएससिआइएस) बाल्टिमोटर जिल्ला कार्यालय र बाल्टिमोर काउन्टी पुलिस डिपार्टमेन्टले यो प्रकरणको छानविन गरेका थिए ।
त्यस क्रममा एच एस आइका एक अधिकारी आप्रवासन अधिकारीको रुपमा सुराकी बनेर घुस खुवाउन खोज्ने वकिल तथा उनका ग्राहकको पर्दाफास गर्न सफल भएका हुन् । आप्रवासन अधिवक्ता भनेको जनताले निकै विश्वास गर्ने पद रहेको भन्दै यस्तो जिम्मेवार पदमा रहेको मान्छेले प्रणाली मिचेर आफ्नो फाइदाका लागि गैरकानूनी काम गर्नु निकै लज्जास्पद रहेको बाल्टिमोर स्थित एचएसआइका प्रमुख विलियम विन्टरले बताए ।