Tuesday, June 4, 2013

घुस खुवाउने नेपाली वकिल अमेरिकामा पक्राउ

२१ जेठ, काठमाडौं । अमेरिकामा सरकारी अधिकारीहरुलाई घुस खुवाउन खोजेको आरोपमा एक नेपाली वकिलसहित दुई जना नेपाली पक्राउ परेका छन् । अमेरिकाको मेरिल्याण्डस्थित संघीय ग्राण्ड जुरीले एक आप्रवासन अधिवक्ता र उनका चार जना ग्राहकमाथि सरकारी अधिकारीलाई घुस खुवाउन खोजेको आरोपमा मुद्दा दायर गरेको युएस इमिग्रेसन एण्ड कस्टुम इन्फोर्समेन्ट डिभिजनले जनाएको छ ।
पक्राउ पर्नेमा मेरील्याण्डका अधिवक्ता नेपाली मूलका ५९ वर्षीय किरन देवान समेत रहेका छन् उनले देवान एण्ड एसोसिएट्स नामको ल फर्म संचालन गर्दै आएका थिए । त्यस्तै अर्का नेपाली ५१ वर्षका नारायण थापा समेत रहेका छन् । पक्राउ पर्नेमा अमजाद इसरार, मोहम्मद खान र खाजरादार रहेका छन् । उनीहरु पाकिस्तानका नागरिक हुन् ।
वैधानिक स्थायी बसोबासको स्विकृति, रोजगारीको अधिकार सम्बन्धि कागजातका साथै ग्रिन कार्ड प्राप्त गर्नका लागि उनीहरुले आप्रवासन कार्यालयका कर्मचारीलाई घुस खुवाउन खोजेको आरोप लागेको हो । अमेरिकी आप्रवासन तथा कस्टम इन्फोर्समेन्ट कार्यालय -आइ सि इ) , होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन (एच एस आइ) बाल्टिमोर, अमेरिकी नागरिकता तथा आप्रवासन सेवा -युएससिआइएस) बाल्टिमोटर जिल्ला कार्यालय र बाल्टिमोर काउन्टी पुलिस डिपार्टमेन्टले यो प्रकरणको छानविन गरेका थिए ।
त्यस क्रममा एच एस आइका एक अधिकारी आप्रवासन अधिकारीको रुपमा सुराकी बनेर घुस खुवाउन खोज्ने वकिल तथा उनका ग्राहकको पर्दाफास गर्न सफल भएका हुन् । आप्रवासन अधिवक्ता भनेको जनताले निकै विश्वास गर्ने पद रहेको भन्दै यस्तो जिम्मेवार पदमा रहेको मान्छेले प्रणाली मिचेर आफ्नो फाइदाका लागि गैरकानूनी काम गर्नु निकै लज्जास्पद रहेको बाल्टिमोर स्थित एचएसआइका प्रमुख विलियम विन्टरले बताए ।

अभियोजनकर्ताहरुका अनुसार देवानले आफ्नो आप्रवासन सम्बन्धि अधिकार तथा अनुभवको दुरुपयोग गरेका छन् । पक्राउ परेका अन्यमध्ये इसरार र खानले अमेरिकाका कनेक्टिकट लगायतका क्षेत्रमा विभिन्न व्यवसाय संचालन गरिरहेका छन् भने नादारले मेरिल्इाण्डको ग्यास स्टेसनमा काम गर्नुका साथै थापाले मेरिल्याण्डको एक रेष्टुरेन्टमा काम गर्दै आएका छन् । चारै जनाले अमेरिकामा स्थायी बसोबास तथा रोजगारी अधिकारको वैधानिक मापदण्डमा अयोग्य रहेको बताइएको छ ।
यिनीहरु विरुद्धको अनुसन्धान सन् २०११ को मार्चमा सुरु भएको थियो । देवानले आप्रवासन अधिकारीलाई घुस दिएर स्थायी रेसिडेन्स, गि्रन कार्ड तथा रोजगारी अधिकार कागजात प्राप्त गर्नका लागि भन्दै ती चार जनाबाट पैसा लिएको बताइएको छ । देवानले त्यसपछि फर्जी आप्रवासन कागजात तयारी गरी ती चारजनालाई हस्ताक्षर गराई आप्रवासन अधिकारीको रुपमा काम गरी एचएसआइका सुराकीहरुलाई प्रमाणिकरणका लागि बुझाएका थिए ।
ती फर्जी डकुमेन्टमा इसरार र खानले अमेरिकी नागरिकसँग बिहे गरेको र नादार र थापाले आफ्नो आफ्नो रोजगारदाताले आफुलाई स्थायी रेसिडेन्सका लागि स्पोन्सर गरेको नक्कली दाबी पेश गरिएको थियो । देवानले ती चार जनाबाट पैसा लिएर सुराकीको रुपमा रहेका एचएसआइका एजेन्टलाई जम्माजम्मी १ लाख १७ हजार १ सय अमेरिकी डलर घुस दिएकार आफुले कमिसन बापत २ हजार ९ सय अमेरिकी डलर लिएको अधिकारीहरुको भनाई छ ।
अभियुक्तहरुले कागजात किर्ते गरेको आरोपमा अधिकतम ५ वर्षसम्म कैद र घुस दिएको आरोपमा १५ वर्षसम्म कैद सजाय पाउनसक्ने कानूनी व्यवस्था छ । देवान, थापा र खानलाई बुधबार बाल्टिमोर जिल्ला अदालतमा उपस्थित गराइनेछ । इसरारलाई भने न्यु ह्याभेनस्थित अदालतले थुन्नका लागि आदेश दिइसकेको छ ।

No comments: