Thursday, January 31, 2013

उपराष्ट्रपतिको भ्रमण मन्त्रालयले किन रोक्यो ?

सुरेन्द्र पौडेल, काठमाडौं, माघ १८ - पूर्वी युरोपेली राष्ट्र लिथुवानिया जाने अन्तिम तयारी गरिरहेका उपराष्ट्रपति परमानन्द झाको भ्रमण परराष्ट्र मन्त्रालयले रोकिदिएको छ। पर्यटन मेलामा सहभागी हुन उपराष्ट्रपति झा लिथुवानियातर्फ जाने तयारीमा थिए।
लिथुवानियाको राजधानी भिल्नियसमा शुक्रबार (माघ १९) सुरु हुने इन्टरनेसनल टुरिजम, लिजर एन्ड स्पोर्ट्स फेयर एड्भेन्चरमा सहभागी नहुन परराष्ट्रले हिजो पत्र पठाई उपराष्ट्रपतिको कार्यालयलाई भनेको हो।
'राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्ध नगाँसिएको देशमा हुने सामान्य कार्यक्रममा उपराष्ट्रपति जस्तो सम्माननीय व्यक्ति जानु उपयुक्त देखिएन,' परराष्ट्र मन्त्रालय स्रोतले नागरिकसँग भन्यो, 'त्यसैले उपराष्ट्रपतिज्यूलाई लिथुवानिया भ्रमणमा नजान हामीले राय दिएका छौं।'
उपराष्ट्रपतिको कार्यालयका अनुसार झालाई लिथुवानियाका प्रधानमन्त्री अलगिरडास बुटकेभिसियसले पर्यटन मेलामा सहभागी हुन निमन्त्रणा पठाएका थिए। उक्त पत्रसहित उपराष्ट्रपतिको कार्यालयले केही दिनअघि लिथुवानियाको भ्रमण मिलाइदिन परराष्ट्रलाई पत्राचार गरेको थियो।
भ्रमणबारे पत्र सुरुमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउनुपर्नेमा उपराष्ट्रपतिको कार्यालयले सिधै परराष्ट्र पठाएको थियो। त्यसपछि परराष्ट्रले उपराष्ट्रपतिको लिथुवानिया भ्रमणबारे मन्त्रिपरिषद कार्यालयलाई जानकारी गराएको थियो। मन्त्रिपरिषद कार्यालयले उल्टो भ्रमणबारे राय मागेपछि परराष्ट्रले 'भ्रमणमा जान नमिल्ने' भन्ने जवाफ उपराष्ट्रपति र मन्त्रिपरिषद कार्यालयलाई दिएको हो।
'हालसम्म कुनै पनि किसिमको अन्तर्क्रिया नभएको देश, अझ आफ्नो देशको दूतावास नभएको ठाउँमा उपराष्ट्रपति जानु राम्रो होइन,' परराष्ट्र स्रोतले भन्यो।
२०६१ माघ २६ गते नेपाल-लिथुवानिया कुटनीतिक सम्बन्ध गाँसिएको थियो। त्यसयता दुई देशबीच कुनै उच्चस्तरीय भ्रमण भएका छैनन् भने हालसम्म कुनै किसिमको आर्थिक सम्बन्ध पनि जोडिन सकेको छैन। लिथुवानियाको सहप्रमाणीकरण जिम्मेवारी अन्य कुनै दूतावासलाई नभएका कारण पनि भ्रमण चाहेर पनि गराउन नसकिएको भनाइ स्रोतको छ।
लिथुवानियाली प्रधानमन्त्रीको निम्तो पाएपछि उपराष्ट्रपतिले भ्रमणको तयारी गरेका थिए। स्रोतका अनुसार उपराष्ट्रपतिको कार्यालयले तीन दिनका लागि उपराष्ट्रपति झा लिथुवानिया आउने जानकारी पठाइसकेको थियो। उपराष्ट्रपति कार्यालयले माघ १९ देखि २१ सम्म तीनदिने भ्रमण तालिका बनाएको थियो।
'उपराष्ट्रपतिज्यू लिथुवानियामा हने एक पर्यटन मेलामा सहभागी हुने कार्यक्रम छ, तर परराष्ट्र मन्त्रिपरिषदको कार्यालयबाट स्वीकृत भइसकेको भने छैन,' उपराष्ट्रपतिको कार्यालयका सचिव लक्ष्मणकुमार पोखरेलले जानकारी दिए।
उपराष्ट्रपति झा लिथुवानिया भ्रमणमा 'जान नहुने' भनी परराष्ट्रले पठाएको पत्रबारे आफूले मौखिक रुपमा सुने पनि पत्र भने प्राप्त नगरेको पोखरेलले बताए। उपराष्ट्रपतिको भ्रमणसम्बन्धमा परराष्ट्र सकारात्मक नभएको बुझाइ उनको छ। 'परराष्ट्रको भ्रमणमा नजान भन्ने रायसहितको पत्र मैले प्राप्त गरेको छैन,' उनले भने।
उपराष्ट्रपति झा सहभागी हुन जान लागेको पर्यटन मेलाको आयोजक लिथुवानियाको एक्जिबिसन एन्ड कंग्रेस सेन्टर लिटएक्स्पो हो। मेलामा ५० भन्दा बढी देशका पर्यटन व्यवसायी सहभागी हुनेछन्।

No comments: