Thursday, January 31, 2013

मसुरो उत्पादनमा नेपाल छैटौं

काठमाडौ, माघ १९ -  दलहन बालीको सूचीमा पर्ने मसुरो उत्पादनमा नेपाल अघिल्लो वर्षको दाँजोमा एक स्थान तल झरेर छैटौं स्थानमा पुगेको छ । अदुवा उत्पादनमा भने तेस्रोमा आएको छ ।
संयुक्त राष्ट्र संघअन्तर्गतको कृषि तथा खाद्य संगठन (एफएओ) का अनुसार छैटौं स्थानमा आएको नेपाली मसुरोको विश्व बजारमा ५ प्रतिशत हिस्सा छ । अघिल्लो वर्षको दाँजोमा गत वर्ष मसुरो उत्पादन ३६ दशमलव ३१ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष नेपालले २ लाख ६ हजार ८ सय ६९ टन उत्पादन गरेको थियो ।
विश्वमा सबैभन्दा धेरै मसुरो उत्पादन गर्ने मुलुकमा क्यानडा, भारत, अस्ट्रेलिया र अमेरिका छन् । अमेरिकापछि नेपाल पर्छ । सन् २०१० मा नेपालले १ लाख ५१ हजार ७ सय ५७ टन मसुरो उत्पादन गरी पाँचौं स्थानमा परेको थियो । सन् २००७ मा नेपालको स्थान तेस्रंो थियो । त्यसबेला नेपालले १ लाख ६१ हजार १ सय ४७ टन उत्पादन गरेको थियो ।
त्यसताका पहिलो स्थानमा क्यानडा -१० लाख टन) र दोस्रोमा भारत -८ लाख १० हजार टन) थिए । कृषि विकास मन्त्रालयका अनुसार नेपालको मसुरो सबैभन्दा धेरै निर्यात हुने मुलुक बंगलादेश हो । यसबाहेक भारत, सिंगापुर, यूएई, बहराइनमा पनि मसुरो निर्यात हुन्छ ।
सरकारी तथ्यांकअनुसार गत आर्थिक वर्ष नेपालले २ अर्ब ६७ करोड रुपैयाँ बराबरको ३३ हजार १ सय ५१ टन मसुरो निर्यात गरेको थियो । त्यसबेला २ अर्ब ४५ करोड मूल्य बराबरको २९ हजार ५ सय ७९ टन मात्र बंगलादेशमा निर्यात भएको थियो । त्यस्तै भारतमा १९ करोड ३० लाख रुपैयाँ बराबरको मसुरो निर्यात भएको थियो ।
कृषि विकास मन्त्रालयका अनुसार किसान उच्च मूल्य भएका दलन बालीमा आकषिर्त हुँदै आएका छन् । रासायनिक मल र कामदारको अभावका कारण अन्य बालीको तुलनामा दलहनमा किसानको आकर्षण बढेको छ । आर्थिक वर्ष २०६४/६५ मा मसुरो नेपालबाट सबैभन्दा धेरै निर्यात हुने कृषि उपजमा परेको थियो ।

No comments: