Tuesday, April 9, 2013

गजुरेल काजी पत्रकारद्धारा बहिष्कृत


नेपालगन्ज, चैत्र २७ - कुनै कार्यक्रममा २ सय जना बोलाएकामा २ जना आए भने कस्तो होला ? खल्लो भन्ने कि बहिष्कार ? यस्तो घटना बिरलै प्रायः हुन्छन् । तर नेकपा-माओवादीले नेपालगन्ज विमानस्थलमा सोमबार गरेको पत्रकार सम्मेलनपछि सचिव सीपी गजुरेलले यस्तै तितो अनुभव लिएर काठमाडौं उड्नुपर्‍यो ।  उक्त पार्टी निकट पत्रकार संगठनले गजुरेलको पत्रकार सम्मेलनका लागि डेढ सय बढी सञ्चारकर्मीलाई निम्तो गरेको थियो । ४ बजे दिउँसो हुने भनिएको सम्मेलनका लागि कुनै पत्रकार नभएपछि केहीबेर विशिष्ट कक्षमा प्रतीक्षा गर्नुपर्‍यो । के गर्ने के नगर्ने ? सबै अलमल्ल थिए । 'के भएको हो ? आउँदै हुनुहुन्छ कि सोधौ न' सुनसान देखिए पनि गजुरेल आयोजकलाई भन्दै थिए, 'यो त भएन ।' तर २ जनाभन्दा बढी पत्रका देखिएनन् । तर एउटा टेलिभिजनका संवाददातासँग क्यामेरामेन पनि आएकाले सम्मेलनमा सञ्चारकर्मीको सख्या ३ पुग्यो । रित्तो देख्दा देख्दै पनि एक जना सुरक्षाकर्मी आएर विशिष्ट कक्षमा मानिसको भीड गराउँदा अन्यलाई कठिनाइ हुन्छ भन्दै थिए ।
प्रहरीले सधैं नेताहरूको पत्रकार सम्मेलनमा ठूलै भीड देख्दै आएकाले पूर्वानुमान गरेका हुन सक्छन् । 'त्यसो भए माथि हलमा जाउँ' नेताको प्रस्तावपछि सबै नागरिक उड्डयन प्राधिकरणको सभा कक्षमा लागे । त्यहाँ पनि धेरै प्रतीक्षा भयो पत्रकार थपिएनन् । 'मैले २ सय जना पत्रकारलाई निम्तो गरेको हुँ,' क्रान्तिकारी पत्रकार महासंघका केन्दीय सदस्य पुजन विश्वकर्माले मञ्चबाट २ जना पत्रकारकै उपस्थितिमा कार्यक्रम सञ्चालन गर्नु परेको उल्लेख गर्दै भने, ' किन आउनु भएन ? सोधने छौ ।' उनले ५ सय रुपैयााको रिचार्ज गरेर सबैलाई फोन र एसएमएस गरेको बताए ।

No comments: