Thursday, March 21, 2013

निर्वाचन आयोग प्रमुखमा उप्रेती

nilkantha
 संवैधानिक परिषद्ले निर्वाचन आयोगको प्रमुख आयुक्तमा निलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ । परिषद्को बिहीबार बसेको बैठकले प्रमुख चार दलीय उच्चस्तरीय राजनीतिक समितिको सुझाव अनुसार आयोगको प्रमुख आयुक्तमा निलकण्ठ उप्रेतीलाई सिफारिस गरेको हो ।
परिषदको सिफारिसपछि उप्रेती प्रमुख निर्वाचन आयुक्त बन्ने पक्का भएको छ । संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषद्ले गरेको सिफारिसलाई राष्ट्रपतिले प्रमाणित गर्ने प्रचलन छ ।
यसैगरी संवैधानिक परिषदको बैठकले निर्वाचन आयुक्तमा दोलखबहादुर गुरुङ, अयोधीप्रसाद यादव, इला शर्मा र रामभक्त पीभी ठाकुरलाई सिफारिस गरेको छ । संविधान १ सय २८ बमोजिम नियुक्तिका लागि ५ जनाको नाम सिफारिस गरिएको परिषद् सदस्य सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिनुभयो ।
परिषदको सिफारिस अनुसार अब राष्ट्रपतिले यसलाई प्रमाणित गरेपछि आयोगले पूर्णता पाउनेछ । हालै मात्र अध्यादेशमार्फत संवैधानिक निकायमा नियुक्ति गर्दा संसदीय सुनुवाइ गर्नु पर्ने व्यवस्था हटाइएकाले निर्वाचन आयुक्तहरुको नियुक्तिको बाटो खुलेको हो ।

उप्रेतीसँगै गुरुङ र यादव अघिल्लो संविधानसभा निर्वाचनमा आयुक्त हुनुहुन्थ्यो । तत्कालीन प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजीनामा दिएपछि उप्रेतीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेबारी सम्हाल्नुभएको थियो भने उहाँको अवकाशपछि केही महिना गुरुङ पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त हुनुभयो । उहाँसँगै यादवले समेत अवकाश पाएपछि गत पुसबाट निर्वाचन आयोग सचिवको भरमा चल्दै आएको छ । परिषद्ले नयाँ सिफारिस गरेकामध्ये शर्मा पत्रकार तथा द्वन्द्वकालमा मारिएका इनिस्पेक्टरका श्रीमती हुनुहुन्छ भने ठाकुर इजिप्टका लागि नेपाली राजदूत भइसक्नुभएको छ ।
विहीबार बसेको परिषद् बैठकले निर्वाचन आयोगबाहेक अन्य संवैधानिक निकायमा भने नियुक्तिको सिफारिस गरेको छैन । परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई सिफारिस गर्न दलहरुले आग्रह गरेका थिए । निर्वाचन आयोगबाहेक अन्यत्रको नियुक्ति पछि गरिने बताइएको छ ।
नवगठित संवैधानिक परिषद्को बैठकमा अध्यक्ष खिलराज रेग्मी, कायममुकायम प्रधान न्यायधीश दामोदरप्रसाद शर्मा र मन्त्रीहरु माधवप्रसाद घिमिरे, माधव पौडेल र ऋद्धिबाबा प्रधान हुनुहुन्थ्यो । मुख्यसचिव लीलामणि पौडेल परिषदको सदस्य सचिवका रुपमा उपस्थित हुनुहुन्थ्यो ।

1 comment:

Pawan Paudel said...

नेपालको पहिलो कम्प्युटर अपरेटर भनेर चिनिने उप्रेती ले Electronic Voting System लागु गर्छन भन्ने हामीलाई लाई'रा छ ?|