Sunday, February 24, 2013

एमालेमा डनहरुको भिडन्त


बुटवलमा युवा संघ नेपालको आठौं राष्ट्रिय महाधिवेशन चलिरहेका बेला एमालेको संस्थापन पक्षका कार्यकर्ताहरू बुटवलमा हुने कुनै पनि महाधिवेशन केपी ओलीका लागि अनुकूल नभएको टिप्पणी गरिरहेका छन् । उनीहरूका अनुसार बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केपी ओली अध्यक्षमा पराजित भएर झलनाथ खनाल बिजयी भए । त्यसपछि भएको निजामती कर्मचारी संगठनको अध्यक्षमा पनि संस्थापन पक्षका भोलनाथ पोखरेल बिजयी भए भने प्रेस चौतारीको अध्यक्षमा पनि संस्थापन पक्षकै गगन विष्ट बिजयी भएका थिए ।
बुटवलमै भएको एकोराबको सम्मेलनबाट निर्वाचित अध्यक्ष मीनबहादुर शाहीलाई पनि संस्थापन पक्षले आफ्नै कोटामा राख्दा अहिलेसम्म बुटवलमा हुने सम्मेलन ओली पक्षका लागि प्रतिकूल भएका छन् । युवासंघको अध्यक्षमा पनि त्यही कारण निरज आचार्यले जित्ने दावी गर्दै संस्थापन पक्षका युवाहरू चुनावी मैदानमा होमिएका बेला महेश बस्नेतले बुटवलमा स्थापित भएको अहिलेसम्मको बिरासत तोड्ने ठोकुवा गर्दै छन् उनी पक्षधरहरू ।

डनको भागबण्डा
युवासंघको राष्ट्रिय सम्मेलनको माहौल हेर्दा एमाले पार्टीको महाधिवेशन भन्दा चर्को चलखेल देखियो । देशका नाम चलेका डनहरूदेखि चप्पल र मैला लुगा लगाएर आउने एमालेका मैदानका कार्यकर्ताहरूको रमाइलो जमघट छ । डनको रुपमा चर्चित भएका र पछिल्लो समयमा राजनीतिकरण भएका परशुराम बस्नेत, दिनेश अधिकारी चरी, प्रकाश रेग्मी चमेरो, राजु गुरुङ, अर्जुन गुरुङ, बसन्त गुरुङ, रमेश बाहुन (सुजन पौडेल), ज्ञानेन्द्रमोहन श्रेष्ठ, साजन महर्जन, कृष्ण तामाङ लगायतका बहुचर्चित युवाहरू बुटवलमा जमेरै खटेका छन् । प्राडो, पजेरो, स्कोर्पियो, बोलेरो जस्ता महँगा गाडीको त बुटवलमा ताँती नै छ । महेश बस्नेतमाथि डनवादी बनेको आरोप लगाउनेहरू डनकै शरणमा देखिएका छन् । । डनहरू महेश बस्नेतको पक्षमा रहेको प्रचार गरिए पनि बुटवलमा फरक दृश्य देखियो ।
युवासंघमा आबद्ध डन पृष्ठभूमिका कार्यकर्ताहरू महेश बस्नेत र निरज आचार्य दुवैतिर बाँडिएका छन् । चरी, चमेरो, बाहुन, साजन जस्ता डनहरू महेशको पक्षमा देखिए भने राजु गुरुङ, ज्ञानेन्द्रमोहन श्रेष्ठ, बसन्त गुरुङ जस्ता डनहरू चाहिँ निरजको पक्षमा देखिएका  छन् । डनहरूको सन्दर्भमा पनि युवासंघका पूर्वअध्यक्ष केशव स्थापित समेतको जमघटमा एमालेका एकजना नेताले रोचक टिप्पणी गरे । ‘महेशले डन परिचालन गर्छन्, निरजलाई डनले परिचालन गरेका छन् । त्यसैले डनको बारेमा महेशलाई मात्रै आरोप लगाएर निरजहरू चोखो बन्न खोज्नुको अर्थ छैन, राजु गुरुङ नेपालका मात्र होइन, सिमापारीका समेत डनका पनि डन हुन्, तिनले निरजलाई परिचालन गरेका छन् ।
ज्वाला जंगिए
फागुन १२ गतेको बन्दसत्रपछि आ-आफ्नो प्यानल बनाउने काममा जुटेका थिए नेताहरू । साँझ परेपछि निरज प्यानलको उम्मेदवारी घोषणासभा सिद्धार्थ कटेजमा आयोजना गरियो । सन्चालक थिए, डन राजु गुरुङ । उनले युवासंघलाई डनहरूको कब्जाबाट मुक्त गरौं भन्दा सहभागीहरू व्यंग्यपूर्ण ताली बजाउँदै थिए । एमाले पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला आफ्नो मर्यादा समेत बिर्सिर्एर निरजको पक्षमा भाषणमात्र गरेनन्, महेश बस्नेत डन नै हुन् भनिदिए । युवासंघमा हप्ता उठाउने डनहरूलाई परास्त गर्नुपर्छ भन्दा हप्ता होइन दैनिकी उठाउने ज्ञानेन्द्रमोहनहरूले ताली बजाए । सिद्धार्थ कटेजभित्र पसेर निरज प्यानललाई हौसला दिए पनि गोकर्ण विष्ट, घनश्याम भुषाल, ठाकुर गैरे लगायतले भाषण भने गरेनन् ।
प्राडोको ताँती
उता महेश बस्नेत पक्षको उम्मेदवारी घोषणा सभा सिद्धार्थ कटेजबाट ७ मिनेटको पैदलयात्रा दूरीमा रहेको ग्रीन भ्याली पार्टी प्यालेसमा थियो । सहभागीहरू निरजको सभामा भन्दा महेशको सभामा कम थिए । निरजको सभामा माइकको समेत व्यवस्था थियो भने महेश बिना माइक भाषण गर्दै थिए । निरजको सभामा पार्टीको संस्थापन पक्षका नेताहरू सहभागी भए पनि महेशको सभामा ओली पक्षका कोही पनि नेता देखिएनन् । ‘आफ्नो उम्मेदवारले जितुन् भन्ने सद्भाव राख्नु स्वाभाविक हो तर पार्टीको नेता युवासंघको पनि एउटा गुटको भेलामा गएर अर्कोलाई गाली गर्न शोभा दिदैन, त्यही भएर हामी प्रकााश ज्वालाहरू जस्तो नांगो भएर लागेनौं ओली पक्षधर केन्द्रीय सदस्य कर्णबहादुर थापाले भने । निरजको सभास्थल सिद्धार्थ कटेजमा गाडीहरू कम मोटरसाइकल बढी थिए भने महेशको सभास्थलमा प्राडो र पजेरोको लाइन नै थियो ।
नेताको कित्ताकाट
युवासंघको सम्मेलनमा एमालेका तेस्रो पुस्ताका नेताहरू सक्रिय छन् । अध्यक्ष मण्डलका अध्यक्ष शंकर पोखरेल र युवा इन्चार्ज योगेश भट्टराई तुलनात्मक रुपमा तटस्थ देखिए । बुटवलकै स्थानीय समेत रहेका रामनाथ ढकाल पनि कसैको पक्ष बिपक्षमा खुलेनन् । बुटवलमै रहेका एमाले केन्द्रीय प्रचार विभागका सचिव सूर्य थापा पनि खुलेर पक्ष विपक्षमा नलागे पनि उनको सहानुभूति निरजप्रति छ । केशव स्थापित आफू कुनै पनि पक्षमा नलाग्ने भन्दै प्रेस चौतारीका पूर्वअध्यक्ष शम्भु श्रेष्ठलाई लिएर दिउँसै काठमाडौं फर्किए । प्रकाश ज्वाला, गोकर्ण विष्ट, घनश्याम भुषाल, ठाकुर गैरे, यमलाल कँडेल लगायतका नेताहरू निरजको प्यानल बनाउन सक्रिय छन् भने जगन्नाथ खतिवडा, कर्णबहादुर थापा, दामोदर अर्याल, खिमलाल भट्टराईहरू महेशको पक्षमा सक्रिय छन् ।
अखिल खर्लप्पै
अनेरास्ववियुको सिंगो केन्द्रीय कमिटी नै बुटवलमा डेरा जमाएर बसेको छ। अध्यक्ष माधव ढुंगेल, उपाध्यक्ष भीम राई, महासचिव किशोरविक्रम मल्ल, सचिव रचना खड्का तथा सचिवालय सदस्यहरू रश्मी आचार्य, बाबुराम पन्थी, राजकुमार राई, ऐन महरहरू महेश बस्नेतको पक्षमा माहौल बनाउन व्यस्त छन् । उपाध्यक्षहरू लक्ष्मण लम्साल, नवीना लामा, सचिवालय सदस्यहरू राधिका खतिवडा, थोमस बास्तोला, उषाकिरण तिम्सिना, गौतम राई, भक्तकुमारी लामा, रन्जु ज्ञवाली, सीता थापा लगायतको टोली निरजको पक्षमा माहौल बनाउन खटिएको छ । अखिलका पूर्व उपाध्यक्ष शोभियत ढकाल निरजको प्यानल बनाउन मेरिगोल्ड होटलमा खटिएका छन् । पछिल्लो समय माधव ढुंगेलबाट छुट्टएिका तर संस्थापन पक्षमा पनि नगएका उपाध्यक्ष नवराज पौडेल भने बुटवल नै गएनन् ।
होपको हंगामा
फागुन १२ गते दिउँसो ३ बजेतिर एकाएक सम्मेलनस्थलमा सेतो टिसर्ट बाँडियो । बन्दसत्र चलिरहेको बेला बाहिर चौराहाको छेउमा एउटा प्राडोभित्रबाट धमाधम टिसर्ट बाँड्न थालियो । टिसर्टको पछाडि अंग्रेजी अक्षरमा होप लेखिएको छ । त्यसको मुनी केपी ओली, योगेश भट्टराई र महेश बस्नेतकेा फोटो जोडेर छापिएको छ । एमालेको आशा अब यिनै नेताहरूमा भन्ने आशय थियो । टिसर्ट बाँड्न प्रयोग भएको गाडी रहेछ, चितवनका प्रकाश रेग्मी उर्फ चमेरोको । टिसर्टमा योगेशको फोटो बीचमा राखिएको पाएपछि संस्थापन पक्षकाले योगेशलाई सुनाए । योगेशले बदसत्रको मन्चबाटै आक्रोश पोख्दै टिसर्ट बाँड्ने काम तुरुन्त बन्द गर्न निर्देशन दिएपछि एकाएक त्यो प्राडो टिसर्ट फाल्दै बाहिरियो । बिहान त्यो टिसर्ट लगाएर हिंड्नेहरू पनि कमै देखिए । यद्यपी उनीहरु युवा शक्ति के भन्छ, महेश बस्नेत ले भन्छ भन्दै सडकमा सानो झुण्ड बनाएर नारा लगाउदै हिडेका देखिन्थे । देशभरका चर्चित डनहरुको जमघट भएकाले हुनुपर्छ बुटवलमा हरेक दिन कम्तिमा १२ सय प्रहरी परिचालित छन् । बर्दघाटस्थित सशस्त्र गणबाट समेत सुरक्षाकर्मी झिकाइनुले सुरक्षा संवेदनशीलता झल्किएको छ ।
स्रोत:http://www.onlinekhabar.com/2013/02/45479/#.USr6yGJpXhc.facebook

No comments: