Thursday, February 7, 2013

एमाओवादी अब 'मास बेस' दल

maoistsहेटौंडा, माघ २६ - एकताको सातौं महाधिवेशन सकेर राजधानी फर्केपछि एमाओवादी 'मास' राजनीतितिर उन्मुख हुने देखिएको छ ।
सत्ताको नेतृत्वसमेत गरेको एमाओवादी महाधिवेशनमा देखिएको झलक र अध्यक्ष पुष्पकमल दाहालको दस्तावेजमा उल्लेख भावी कार्यदिशाबाट उसको झुकाव विस्तारै 'मास' तिर बढ्दै गएको प्रतीत हुन्छ । दाहालको दस्तावेजमा जनवादी पुँजीवादी क्रान्तिका लागि उत्पादनमा जोड दिने, प्रत्येक इकाईले सहकारीमार्फत उत्पादनका कार्यक्रम अघि बढाउने उल्लेख छ । एमाओवादीले सर्वहाराभन्दा मध्यम वर्ग लक्षित कार्यक्रम ल्याएको छ ।
लोकतान्त्रिक पार्टीहरू 'मास' अर्थात् आम जनतामा र कम्युनिस्ट पार्टीहरू 'क्याडर' अर्थात् कार्यकर्तामा बढी केन्दि्रत हुन्छन् । तर माओवाद विचारधारा बोक्ने र १० वर्ष सशस्त्र युद्ध लडेको एमाओवादीको पछिल्लो कार्यदिशाले कार्यकर्ता स्वयंलाई आश्चर्यमा पारेको छ ।
'पार्टीको मूल आधार कार्यकर्ताको ठूलो पंक्ति नै हो । त्यसमाथि कम्युनिस्ट पार्टीमा त कार्यकर्ता पंक्तिले नै मासलाई परिचालित गर्छ । मासतिर बढी झुकाव राख्दा कम्युनिस्ट पार्टीको संरचना कमजोर हुनेमात्र नभई वैचारिक रूपमै संशोधनवादको दिशामा उन्मुख हुन्छ,' थारूवान राज्यबाट पर्यवेक्षकका रूपमा आएका सूर्य सुवेदीले भने, 'अहिलेको कार्यदिशा मासतिर मात्र उन्मुख छैन । तर व्यवहार त्यसतर्फ उन्मुख भएको हो कि जस्तो देखिएको छ । परिणाम हेर्न केही समय कुर्नुपर्छ ।'
त्यसो त शान्ति प्रक्रियामा आएदेखि नै एमाओवादीको लगाव मासतिर बढी गएको उनको बुझाइ छ । संविधानसभा निर्वाचनमार्फत सबैभन्दा ठूलो र प्रत्यक्षतर्फ कांग्रेस-एमालेभन्दा झन्डै चार गुणा बढी सिट जितेपछि झुकाव झनै बढेको उनले बताए । 'शान्ति प्रक्रियामा आएपछि पार्टीमा नेताबाहेक कोही पनि कार्यकर्ता पूर्णकालीन रहेनन् । जो पूर्णकालीन छन्, ती बेरोजगारीका कारण लागेका हुन्,' उनले थपे ।
२०४८ मंसिरमा चितवनको माडीमा किसानका बीच एकताको छैटौं महाधिवेशन गरी दीर्घकालीन जनयुद्धको कार्यदिशा अघि सारेको माओवादीले हेटौंडाको औद्योगिक क्षेत्रभित्र मजदुरबीच गरेको एकताको सातौं महाधिवेशनबाट उत्पादनमा जोड दिँदै मध्यम वर्ग लक्षित कार्यक्रम ल्याएको छ ।
नेता कृष्णबहादुर महरा अब कार्यकर्तामा आधारित पार्टीमात्र बनाएर नहुने बताउँछन् । 'जनतालाई नजोडिकन बाँकी क्रान्ति पूरा हुन सक्दैन । खास गरेर सर्वहारा वर्गमा आधारित र जनता गोलबन्द भएको पार्टी बनाउनुपर्छ,' उनले भने, 'जनतालाई गोलबन्द बनाउने पार्टी बनाउनुपर्छ । यसको अर्थ पूर्ण रूपमा मासबेस पार्टी बनाउनुपर्छ होइन ।' महाधिवेशन स्थल छनोटको संयोग परे पनि सर्वहारा वर्गलाई छाडेर मध्यम वर्गतर्फ उन्मुख हुन नखोजेको उनले बताए ।
शान्तिमन्त्रीसमेत रहेका अर्का नेता टोपबहादुर रायमाझी मुख्यतः आफ्नो पार्टी कार्यकर्तामै आधारित रहेको बताउँछन् । 'क्याडरलाई प्रशिक्षित गरी मासलाई प्रभाव पारेर आधार विस्तार गर्ने हाम्रो नीति हो,' उनले भने । अर्थमन्त्रीसमेत रहेका वर्षमान पुन कार्यकर्ता र आम जनतालाई समन्वय गरेर अघि बढ्ने नीति लिएको बताउँछन् । उनको शब्दमा अब एमाओवादी 'मासमा आधारित क्याडर पार्टी' हुनेछ ।
'आम जनताले माक्र्सवाद, माओवाद बुझ्दैनन् । त्यसका लागि कार्यकर्ता नै चाहिन्छ । कार्यकर्तालाई प्रशिक्षित गरेर जनतालाई बुझाउने हो,' उनले भने, 'त्यसैले कार्यकर्तामा आधारित नभई कम्युनिस्ट पार्टी चल्दैन ।' लोकतान्त्रिक प्रक्रिया अपनाइसकेपछि जनतामाफ पुग्नु पनि उत्तिकै आवश्यक भएको उनले बताए । कार्यकर्ताले जनतालाई बुझाउने र उनीहरूलाई कार्यकर्ता बनाउने अभियान थाल्ने उनको भनाइ छ ।
'कार्यकर्ता जनतामा जान्छ र पार्टी नीतिबारे बुझाउँछ । त्यसपछि जनतालाई कार्यकर्ता बनाउँछ,' उनले भने, 'बढीभन्दा बढी जनतालाई कार्यकर्ताका रूपमा पार्टीमा भित्र्याउन पहल गरिनेछ । यसरी सम्पूर्ण तीन करोड जनतालाई पार्टीमा अटाउने हाम्रो नीति हो ।'

No comments: