Tuesday, February 5, 2013

क्यान इन्फोटेकमा सस्तोमा तीब्र गतिको इन्टरनेट

काठमाडौं, माघ २४ -राजधानीको भृकुटीमण्डपमा बुधबारदेखि सुरु हुने १९ औं सूचना प्रविधिसम्बन्धी मेला 'मिदास क्यान इन्फोटेक-२०१३'मा विभिन्न कम्पनीले सस्तोमा द्रुत गतिको इन्टरनेट उपलब्ध गराउने भएका छन्।
क्यान इन्फोटेकको पूर्वसन्ध्यामा आफ्ना योजनाहरु सार्वजनिक गर्दै इन्टरनेट सेवा प्रदायकले सस्तोमा उच्च गतिको सेवा दिने घोषणा गरेका हुन्। कम्पनीहरुले गरेका घोषणाअनुसार ग्राहकले उच्च गतिको इन्टरनेट सस्तोमा पाउनुका साथै जडान शुल्कलगायत रकममा छुटसमेत पाउनेछन्।
इन्टरनेट सेवा प्रदायक क्लासिकटेक प्रालिले क्यानको अवसरमा उच्च गतिको सेवा सुरुवात गर्ने भएको छ। कम्पनीले १५ मेगाबाइट प्रतिसेकेन्ड(एमबिपिएस) गतिको इन्टरनेट सस्तो मूल्यमा दिने योजना ल्याएको हो। कम्पनीले 'सिटी-४५ फाइबर टु योर होम' नामक योजना ल्याएर १ हजार ५ सय रुपैयाँमा १५ एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराउने भएको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रमेश खरेलले प्रति महिना यो सेवामा ग्राहकले १५ गिगाबाइट डाटा उपयोेग गर्न पाउनेछन्। ग्राहकले यसका लागि जडान शुल्क भने तिर्नुपर्ने छ। एकपटकका लागि ग्राहकले ५ हजार जाडन शुल्क तिर्नुपर्ने उनले जानकारी दिए। कम्पनीले क्यानको अवसरमा भने जडान शुल्कमा ५० प्रतिशत छुट दिएको छ।
अर्को इन्टरनेट सेवा प्रदायक सुबिसु केबलनेट प्रालिले क्यान इन्फोटेकको अवसर पारेर 'डलब ब्यान्डविथ अफर' ल्याएको छ। यसमा ग्राहकले जति गतिको इन्टरनेट सेवा लिन्छन् कम्पनीले त्यत्ति नै गति थपिदिनेछ। यसले गर्दा ग्राहकले दोब्बर गतिमा इन्टरनेट चलाउन सक्नेछन्। कम्पनीका अनुसार कसैले २ सय ५६ किलोबाइट प्रति सेकेन्ड गतिको इन्टरनेट प्याकेज लिएमा ५ सय १२ किलोबाइट प्रतिसेकेन्ड गतिको इन्टरनेट चलाउन पाउनेछ। यसका लागि भने ग्राहकले २ सय ५६ केबिपिएसको मात्र रकम तिरे पुग्छ।
यसैगरी कम्पनीले 'फाइबर टु होम' सेवा लिन ग्राहकलाई क्यानमा विशेष छुट दिने जनाएको छ। सुबिसुले हालै मात्र 'फाइबर टु होम' सेवा सुरु गरेको हो। यो सेवा उपत्याकाभित्र र विराटनगरमा सुरु गरिएको हो। यो सेवामार्फत ग्राहकले टि्रपल प्ले रेडी (भ्वइस, डाटा र भिडियो) सेवा एकसाथ लिन सकिन्छ।
यसैगरी अर्को सेवा प्रदायक एवं क्यानको डायमन्ड स्पोन्सर वेवसर्फर नेपाल कम्प्युनिकेसन सिस्टम प्रालिले विभिन्न प्याकेजमा विशेष छुट दिने भएको छ। कम्पनीले रात्री प्याकेज, भोलुम बेस र आवरली बेस प्याकेजमा एक वर्षको सेवा लिनेलाई जडान शुल्क छुट दिएको छ। यस्तो सेवा कम्पनीले ४ सय ९५ रुपैयाँ मासिकमा समेत उपलब्ध गराउदै आएको छ।
यसैगरी अनलिमिटेड प्याकेज लिने ग्राहकले ६ महिनाको सेवा लिएमा जडान शुल्कमा छुट दिइने कम्पनीले जनाएको छ। यसैगरी यो सेवा लिनेले सित्तैमा ८ जिबीको पेनड्राइभ पनि पाउनेछन्। तीन महिनाको सेवा लिनेले भने ५० प्रतिशत जडान शुल्क छुट पाउनेछन्। यो योजना क्यान इन्फोटेकभर जारी रहने छ। राजधानी बाहिरका ग्राहकले पनि क्यानभर यो सुविधा पाउने छन्। त्यस्तै यो कम्पनीले साना तथा मझौला अफिसहरुको लागि पनि विशेष प्याकेज ल्याएको छ। यो प्याकेजमा जडान खर्चमा विशेष छुटका साथ ग्राहकले ८ जिबीको पेनड्राइभ पाउने छन्।

No comments: