Saturday, February 23, 2013

डनहरुको कब्जामा एमाले


 काठमाडौं, फागुन १२ - किशोर अवस्थाबाटै राजनीतिमा होमिएकी युवा संघ नेपालकी उपाध्यक्ष दिलकुमारी पन्तलाई पछिल्लो समय एउटा प्रश्नले हैरान पार्ने गरेको छ। उनीसँग भेट्ने धेरैले सामान्य शिष्टाचारपछि व्यक्तिगत सुरक्षाबारे जोड दिएर प्रश्न गर्ने गरेका छन्। 
शुभेच्छुकहरुले जाहेर गर्ने चिन्ता उनका लागि नौलो हुन पुगेको छ। 'राजनीतिमा सक्रिय भएको २५ वर्षभन्दा बढी भइसक्यो,' पन्तले भनिन्, 'संगठनमा सक्रिय भइरहेको समयमा व्यक्तिगत सुरक्षाबारे शुभेच्छुको यतिसारो चिन्ता देखेर छक्क पर्छु।' 'मेरो चिन्ता हाम्रो युवासंघको छवि बाहिर कस्तो बन्दै गइरहेको रहेछ भन्ने हो। संघको छविप्रति पो घोत्लिनुपर्ने बेला आएछ,' पन्तले भनिन्।
आपराधिक व्यक्तिसँग नेताहरुको साँठगाँठको कारण संगठनबाहिरका मानिसले गर्ने प्रश्नले हैरान पार्ने गरेको उनले बताइन्। संघको बुटवलमा जारी आठौं महाधिवेशनमा आएका आपराधिक पृष्ठभूमिका दर्जनभन्दा बढी प्रतिनिधि केन्द्रीय नेतृत्वको दौडमा छन्। हप्ता र जबरजस्ती असुली, कुटपिट, हतियार तथा खरखजाना, अपहरण, ज्यान मुद्दाका आरोप लागेकाले पनि नेतृत्व ताकेका छन्। सघको नेतृत्वका लागि अध्यक्ष महेश बस्नेत, उपाध्यक्ष झपट रावल र महासचिव निरज आचार्य प्रतिस्पर्धा गर्दैछन्। बस्नेत केपी शर्मा ओली, रावल वरिष्ठ नेता माधवकुमार नेपाल र आचार्य पार्टी अध्यक्ष झलनाथ खनाल र बामदेव गौतम निकट छन्। 

आगामी वर्ष हुने पार्टी महाधिवेशनलाई समेत प्रभावित पार्ने सक्ने भएकाले यो सम्मेलनबाट नेतृत्व आफ्नो पक्षमा आओस् भन्ने चाहना पार्टी शीर्ष नेतृत्वमा छ। दौडमा रहेका तीनै उम्मेदवारले संघलाई सिर्जनशील र जुझारु बनाउने घोषणा गरेका छन्। तर सबैले काखी च्यापेका व्यक्ति विभिन्न आपराधिक पृष्ठभूमिका छन्। 
विराटनगरका परशुराम बस्नेत, दाङका अर्जुन गुरुङ, काभ्रेका अमित लामा, रुपन्देहीका धु्रव आचार्य, काठमाडौंका ज्ञानेन्द्रमोहन श्रेष्ठ, दिपेशनाम जोशी, फुर्वा लामा, रामेछापका शेरबहादुर तामाङ, बाँकेका प्रकाश बुढाथोकी केन्द्रीय नेतृत्वमा पुग्ने होडमा छन्। 
त्यसैगरी गोर्खाका बसन्त गुरुङ, भक्तपुरका दीपक थापा, धादिङका दिनेश अधिकारी चरी, चितवनका प्रकाश रेग्मी चेमेरो पनि नेतृत्व हत्याउने दाउमा छन्। नेतृत्वमा पुग्न उनीहरु दलबलसहित बुटवल पुगेका छन्। 
राजनीतिक संरक्षण भए आफूले कमाएको अकुत सम्पत्ति सुरक्षा गर्न र स्रोतमाथि नियन्त्रण गर्न सकिने भएका कारण पनि डनहरु विभिन्न राजनीतिक संगठनमा सक्रिय हुन थालेका छन्। त्यसका लागि उनीहरु ठूलो रकमसमेत खर्चन तयार हुन्छन्। बुटवलमा जारी सम्मेलनमा नेतृत्व लिन प्रतिस्पर्धामा रहेका डनहरु ठूलो दलबलका साथ त्यहाँ पुगेका छन्। जसका कारण मूल व्यवस्थापन कमिटीलाई बुटवलमा सम्मेलनमा सहभागी हुने प्रतिनिधिको आवास प्रबन्ध गर्नसमेत समस्या परेको छ। 
'
हामी होटलहरु खोज्दा त्यसअघि नै बुक भैसकेको भेट्टायौं,' व्यवस्थापन कमिटीका एक सदस्यले भने, 'त्यसले प्रतिनिधि व्यवस्थापनमा असर पारेको छ।विराटनगर बसेर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका परशुराम बस्नेत सचिव बन्न दौडमा छन्। दोस्रो कार्यकाल अध्यक्ष हुने खोजेका अध्यक्ष महेश बस्नेतको टिमबाट परशुराम सचिवमा उठ्ने तयारीमा छन्। 
गत साउनमा केन्द्रीय सदस्य मनोनीत बस्नेतमाथि पूर्वाञ्चल क्षेत्रमा टेन्डर कब्जा, पत्रकार कुटपिट, जबरजस्ती असुली जस्ता कार्यमा संलग्न रहँदै आएको आरोप छ। छोटो समयमा अकुत सम्पत्ति कमाएका बस्नेतमाथि सम्पत्ति शुद्धीकरण विभागले छानबिन गरी अभियोगपत्र तयार पारे पनि उनको राजनीतिक संलग्नता र संरक्षणका कारण दर्ता गराउन सकेको छैन। दाङका अर्जुन गुरुङ पनि प्रतिस्पर्धामा छन्। युवा संघको केन्द्रीय सदस्य रहेका गुरुङले यसपटक पदाधिकारी ताकेका छन्। संघका एक नेताले भने, 'उनी कुन पदमा उठ्ने भन्ने विषयमा अहिले बार्गेनिङमा छन्।
माओवादीले दाइको हत्या गरेपछि राजनीतिक संरक्षणका लागि गुरुङ एमालेमा प्रवेश गरेका हुन्। राजधानीबाट पेस्तोलसहित पक्राउ परे पनि राजनीतिक दबाबका कारण गुरुङमाथि प्रहरी कारबाही नभएको एक प्रहरी अधिकारीले बताए। 
काभ्रेका अमित लामा र भक्तपुरका दिपक लामा पनि केन्द्रीय नेतृत्वमा पुग्ने दाउमा छन्। उनीहरू दुवैको संलग्नता विभिन्न आपराधिक गतिविधिमा संलग्न काभ्रेली समूहसँग रहेको प्रहरीको भनाइ छ। लामा युवा संघको आर्थिक विभागका सदस्य हुन् भने थापा भक्तपुर जिल्ला कमिटीका अध्यक्ष छन्। सो समूहका नाइके गणेश लामा भने विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन्। प्रहरीको मस्ट वान्टेड सूचीमा रहेका साजन महर्जन पनि केन्द्रीय सदस्य बन्न खोज्दैछन्। उम्मेदवार बन्ने योग्यता पुर्यावउनकै लागि उनलाई हालै केन्द्रीय खेलकुद विभागमा सदस्य मनोनीत गरिएको एक सदस्यले बताए। महर्जन दलबलसहित गत साउनमा मात्र युवा संघमा प्रवेश गरेका हुन्। 
संगठित अपराध, ठेक्कापट्टाबाट जबरजस्ती रकम असुली, खाग तस्करी, लुटपाटमा संलग्न रहेका दिनेश अधिकारी चरी पनि केन्द्रीय नेतृत्वका लागि प्रतिस्पर्धामा छन्। चरी धादिङ एमालेको क्षेत्रीय कमिटी उपाध्यक्ष हुन्। धादिङबाट रकम असुल गरेर राजधानी फर्कदै गर्दा चरी हतियारसहित नांगढुगामा पक्राउ परेका थिए। चरी अहिले जिल्ला प्रहरी कार्यालय काठमाडौंको धरौटीमा छन्। त्यसैगरी प्रकाश रेग्मी चमेरोमाथि भरतपुर कारागारभित्र हत्या गरिएका तरुण दलका चितवन अध्यक्ष शिव पौडेल हत्याको योजनाकार भएको आरोप छ। 
प्रहरीको निगरानीमा रहेका युवा संघका उपत्यका इन्चार्ज ज्ञानेन्द्रमोहन श्रेष्ठ महासचिव निरज आचार्यको टिमबाट उपाध्यक्ष बन्न खोजेका छन्। उनी अध्यक्ष बस्नेतसँग खटपटपछि आचार्यतर्फ लागेका हुन्। 
'
रहरलाग्दो, भरलाग्दो र डरलाग्दो' अध्यक्ष बस्नेत युवाजन्य कमजोरी भएकालाई सुधार्न उनीहरुलाई संगठित गर्न आवश्यक भएको बताउँदै आएका छन्। बुधबार राजधानीमा आयोजित कार्यक्रममा बस्नेतले संघले उनीहरुको आचरण सुधार्ने बताएका थिए। पार्टीको अर्को जनवर्गीय संगठन अनेरास्ववियुबाट पार्टीकै कार्यक्रममा आक्रमण गरेको भन्दै कारबाहीमा परेका ऐन महर पनि युवा संघको केन्द्रीय नेतृत्वमा पुग्न खोज्दैछन्। सम्मेलन आयोजक कमिटीले मनोनीत गर्न पाउने व्यवस्थाअनुसार प्रतिनिधि बन्दै केन्द्रमा पुग्ने उनको योजना छ। 
अधिवेशनले नयाँ विधानअनुसार एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, सात सचिव र एक कोषाध्यक्ष गरी १ सय ३५ सदस्यीय केन्द्रीय कमिटी छनोट गर्नेछ .
स्रोत :http://www.nagariknews.com/politics/party-politics/53975-2013-02-23-04-21-26.html

No comments: