Tuesday, February 19, 2013

सहमती उल्टाउन एमालेमा कसरत

नेपाल नेतृत्वमा गोप्य बैठक 
                     
काठमाडौं, ८ फागुन : नेकपा एमालेभित्र प्रधानन्यायाधीश खिलराज रेग्मीको पक्षमा गरेको समर्थन उल्टाउन छलफल सुरु भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानन्यायाधीशको विपक्षमा रहेका स्थायी समितिका सदस्यहरुसँग गोप्य छलफल गरेका  छन् ।
आफु विदेशमा रहेका वेला पार्टी नेतृत्वले प्रधानन्यायाधीशको पक्षमा सहमति जनाएपछि असन्तुष्ट बनेका नेपाल त्यसको विपक्षमा रहेका नेताहरुसँग छलफलमा जुटेका हुन् ।
नेपाल निवास कोटेश्वरमा भएको बैठकमा सोमबार शीर्ष नेताहरुका बीचमा भएको नौ बुँदे सहमति पछिको अवस्थाका बारेमा छलफल भएको स्रोतले जनाएको छ । बैठकले सोमबार राष्ट्रपति भवन शीतल निवासमा शीर्ष नेताहरुले गरेको सहमति नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको म्याण्डेट विपरित भएको निष्कर्ष निकालेको स्रोतको दावी छ ।
फ्रान्सको कम्युनिष्ट पार्टीको ३६ औं महाधिवेशन तथा ग्रीस एवं इटालीका कार्यक्रमहरुमा भाग लिएर सोमबारै नेपाल फर्किएका नेता नेपालले भोलीपल्टै पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल सुरु गरेका हुन् ।
नेपालले प्रधानन्यायाधीशलाई कार्यकारी प्रमुख बनाउने कुराले न्यायालय तथा न्यायमूर्तिहरु समेत विवादमा पर्ने र पछि गएर एमाओवादीले नै यसलाई काम गर्न नदिने आशंका समेत व्यक्त गरेका थिए ।
बैठकमा महासचिव ईश्वर पोखरेल, सचिवद्वय युवराज ज्ञवाली र शंकर पनेखरेल तथा अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा सहभागी छन् । बैठकमा सहभागि केही नेताहरुले अध्यक्ष झलनाथ खनालले पार्टीको म्यान्डेट विपरित सहमति गरेको भन्दै फेरि केन्द्रीय कमिटी बैठक बोलाएर छलफल सुरु गर्नुपर्ने बताएका छन् ।
सोमबार काठमाडौं फर्के लगत्तै नेता नेपालले बहालवाला प्रधानन्यायधिसलाई कार्यकारी प्रमुख बनाउन नहुने बताएका थिए ।

No comments: