Thursday, February 21, 2013

२४ दल वैद्यतिर


१० फागुन, काठमाडौं । प्रचण्ड नेतृत्वको २१ दलीय सत्तारुढ संघीय लोकतान्त्रिक गठबन्धन र कांग्रेस, एमाले नेतृत्वको विपक्षी लोकतान्त्रिक गठबन्धन अनौपचारिकरुपमा विघटन भएको छ । प्रमुख चार राजनीतिक दलहरु प्रधानन्यायाधीश रेग्मीलाई सरकार प्रमुख बनाउन लागिपरेपछि दुबै पक्षको गठबन्धन भत्किएको हो । प्रमुख चारदलको मोर्चा भत्किएपछि मोहन वैद्य नेतृत्वको मोर्चासँग साना दलहरुले गठबन्धन निर्माणका लागि छलफल थालेका छन् ।
कांग्रेस, एमालेले सरकार विरुद्ध थालेको आन्दोलनमा नेकपा माले, जनमोर्चा, सद्भावना, राप्रपा र जनशक्ति पार्टीलगायतका ९ दल सहभागी थिए । तर, एमाओवादीसँग कांग्रेस एमाले मिलेपछि विपक्षी ९ दलीय गठबन्धनका अन्य सानाद लहरु आक्रोशित हुँदै टाढिएका छन् । त्यसैगरी मधेसी मोर्चा र एमाओवादीको गठबन्धनमा रहेका सत्तारुढ साना दल र मन्त्रीहरुसमेत प्रचण्ड नेतृत्वको गठबन्धनबाट छुटेर अलग्गै बैठक बस्न शुरु गरेका छन् । कांग्रेस एमालेको मोर्चा छाडेका साना २४ दलले बुधबार नयाँ बानेश्वरमा अलग्गै बैठक गरेका थिए ।
सत्तारुढ गठबन्धनमा सहभागी जनता दल युनाइटेटका कार्यबाहक अध्यक्ष किरण मगरले अनलाइनखबरसँग भन्नुभयो-’हाम्रो गठबन्धन टुटिहालेको छैन, एकपटक प्रचण्डसँग बैठक बसेर अन्तिम सल्लाह गर्छौं र कुरा मिलेन भने छुट्टै बनाउँछौं ।’सत्तापक्ष र प्रतिपक्षी मोर्चाबाट अलग्गिएर टुहुरा बनेका केही साना दलले बुधबार वैद्य पक्षको गठबन्धनका नेता देव गुरुªm परिथापा लगायतसँग छलफल गरेका छन् । वैद्यसँग मोर्चा बनाउन इच्छुकहरुमा मन्त्री एवं सद्भावना नेता अनिल झा र सरिता गिरीसमेत देखिएका छन् । साथै गठबन्धन बाहिरको अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले पनि वैद्यपक्षीय मोर्चामा सामेल हुने इच्छा देखाएको स्रोत बताउँछ ।
वैद्य नेतृत्वको ६ दलीय गठबन्धनमा सहभागी नेकपा एकीकृतका नेता परी थापाका अनुसार २४ दलका नेताहरुको गुनासो चार दलले आफूहरुलाई नबोलाएकोमा मात्रै छ । ‘चार दलले हामीलाई बोलानएनन् भन्ने मात्रै उनीहरुको गुनासो देखियो, तर हामीचाँहि सैद्धान्तिक, संवैधानिक र लोकतान्कि मूल्यका हिसाबले समेत चार दलको निर्णयप्रति असहमत हौं ।’ थापाले भन्नुभयो-चार दलको निश्कर्षप्रति उनीहरुको सहमति देखिन्छ ।’
तथापि मन्त्री अनील झाका साथै सरिता गिरीको सद्भावना, एमएस थापाको जनमुक्ति पार्टी र अशोक राईको पार्टीसँगआफूहरुले छलफल गरेको र आफ्नो गठबन्धनको संख्या बढ्न सक्ने सम्भावना रहेको थापाले बताउनुभयो । ‘आन्दोलनमा मित्र बढाउने र शत्रु घटाउनुपर्ने भएकाले उनीहरुको नियत राम्रो नभए पनि मोर्चा बनाएर जान सकिन्छ ।’ उहाँले भन्नुभयो, ‘यी २४ दल भन्नेहरुको कुनै हुती छैन । त्यहाँ रहेका कतिपय आफूलाई कम्युनिष्ट पनि भन्छन्, तर राज्यको संरचना पनि फेर्नु हुन्न भन्छन् ।’
हामी २४ दलमा छैनौं- ठाकुर
यसैवीच बुधबार २४ दलको बैठकमा सहभागी अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीका नेता गोपाल ठाकुरले आफूहरु साना २४ दलमा नरहेको बताउनुभयो । थापाले जस्तै ठाकुरले पनि यी दलहरु नारामा भन्दा पनि चार दलसँग भाग नपाएर मात्रै असन्तुष्ट बनेको आरोप लगाउनुभयो । ‘२४ वा २५ दलको कुरा नगरैं, संविधानसभा नै नभएपछि यसको अर्थ छैन । अझै पनि यसैगरी २४ दल भन्ने हो भने हामी नबोलाइयोस् ।’ ठाकुरले भन्नुभयो- ‘संविधानसभाको पुनस्र्थापना भयो भने सबै समस्या समाधान हुन्छ । त्यसैले पुनस्थापनाको बाटो उपयुक्त बाटो हो ।’ वैद्यजीहरुसँग पनि हामी छलफल गर्न तयार छौं, मुद्दा मिल्नेसँग हामी जान्छौं ।’

No comments: