Tuesday, February 19, 2013

'छड्के' वयस्कलाई मात्र हेर्न पाउने

  आउँदो फाल्गुन ११ गते शुक्रबार रिलिज हुने 'छड्के' फिल्मले एडल्ट सर्टिफिकेट पाएको छ। फिल्मको केही संवाद छाडा भयो भन्दै सेन्सर बोर्डले फिल्मलाई यस्तो सर्टिफिकेट दिएको हो। फिल्मका निर्माता माधव वाग्लेले फिल्मलाई दिइएको सर्टिफिकेटप्रति असन्तुष्टि व्यक्त गरे। 'यो फिल्म बालबालिकालाई देखाउन जरुरी छ, उनीहरुलाई चेतना दिने प्रशस्त सामग्री छन्। तर, जनजिब्रो झुन्डिएको संवादलाई कारण देखाएर यस्तो सर्टिफिकेट दिइयो,' रिलिज मिति नजिकिएकाले धेरै तर्क गर्न नपाउँदा बोर्डको निर्णय स्वीकार्न बाध्य भएको उनले बताए। फिल्म बुझ्ने मान्छे सेन्सर बोर्डमा नहुँदा अधिकांश फिल्मकर्मीले दुःख पाएको उनले आरोप लगाए। 'हिन्दी फिल्ममा जति छाडा संवाद भएपनि कैंची लाग्दैन, हामीलाई भने सानो कुरामा पनि कचकच गर्छन्,' उनले भने।
फिल्ममा समावेश हिंसात्मक दृश्यका कारण एडल्ट सर्टिफिकेट मिल्न सक्ने अनुमान गरे पनि यो पक्षमा बेवास्ता गर्दै अर्कै कारण देखाएकोमा उनलाई अचम्म पनि लागेको छ। हिंसात्मक दृश्यमा कुनै प्रश्न नगरिएको उनले बताए।
दुईपटक फिल्म हेरेर 'एडल्ट' दिएपछि उनलाई दुइटा कुरामा पीर परेको छ। 'एउटा त यो फिल्म हेर्नबाट बालबालिका बञ्चित हुने भए, जसलाई लक्षित गरेर केही सामग्री राखिएको छ। अर्को फिल्ममेकरको अधिकार हनन भएको छ,' उनले गुनासो गरे।
निगम श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, अर्पण थापा, नम्रता श्रेष्ठ, दयाहाङ राई, रबिन तामाङ, सुनिल पोखरेल लगायत कलाकारले अभिनय गरेका छन्।

No comments: