Tuesday, February 5, 2013

बिन लादेन मारिएको ठाउँमा मनोरञ्जन पार्क



अबोटाबाद । अमेरिकालाई हायलकायल पारेर अन्तिममा अमेरिकी सैनिककै हातबाट ज्यान गुमाउन पुगेका अल कायदा संस्थापक ओसामा बिन लादेन मारिएको स्थानमा मनोरञ्जन पार्क बनाइने भएको छ ।
पाकिस्तानको अबोटाबाद शहरमा रहेको एक घरमा अमेरिकी सेनाले उनलाई सन् २०११ मे २ तारिख सवेरै गोली हानी हत्या गरेको थियो ।
त्यसयता बिश्वले अवोटाबाद शहरलाई लादेनसँग जोडेर चिन्दै आएको छ । त्यही छाप बदल्न त्यहाँ मनोरञ्जन थिम पार्क बनाउन लागिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
समाचार संस्था एएफपीका अनुसार अवोटाबादमा ३ करोड अमेरिकी डलरको लगानीमा बनाउन लागिएको पार्कमा गल्फ कोर्स, झरना, प्याराग्लाईडिङ, रक क्लाइम्बिङ, जगिङ ट्रयाक र चिडियाखानासमेत हुनेछ । सुरुमा ५० एकड जमिनमा बनाइने यो पार्क पछि ५ सय एकडसम्म फैलनसक्ने र करिव ५ करोड अमेरिकी डलरसम्म खर्च हुनसक्ने खैवर पख्तुनख्वहा प्रान्तका उपपर्यटनमन्त्री जैमलुद्दिन खानले बताए । यो परियोजना सक्न ५ बर्षसम्म लाग्नेछ ।
अबोटाबादमा बनाउन लागिएको यो पर्यटकीय मनोरञ्जन पार्कको ओसामा बिन लादेनसँग कुनै साइनो सम्बन्ध नभएको सो प्रान्तका पर्यटनमन्त्री साइदा क्वील खानले दावी गरे । समुद्र सतहबाट करिव ४ हजार फिटको उचाईमा रहेको र चिसो हावापानी भएकाले पर्यटकीय दृष्टिले उत्तम मानिने अबोटाबाद प्रर्बद्धनका लागि पार्क बनाउन लागिएको अधिकारीहरुको दावी छ ।
लादने मारिएकै घरलाई समेटेर पार्क बनाउन लागिएको भने हैन् । उनी मारिएको घरमा सरकारी आवास बनाउन लागिएको बीबीसीले जनाएको छ ।

No comments: