Wednesday, February 6, 2013

राजनीतिक दल आइटीमा किन पछाडि?

 काठमाडौं, माघ २३ - मुलुक सञ्चालन गर्ने प्रमुख राजनीतिक दलहरू अझै सूचना-प्रविधि (आइटी) प्रयोगमा अभ्यस्त भएका छैनन्। आइटी विकासले विश्वलाई सानो गाउँमा परिणत गरिदिँदा पनि एकीकृत माओवादी, नेपाली कांग्रेस, एमालेसहित दलका लागि अहिलेसम्म यो क्षेत्र अझै प्राथमिकतामा परेको छैन।
संसारको कुनै एक कुनामा भएको घटना आइटीका कारण क्षणभरमै अर्को कुना पुग्छ। तर, यहाँका राजनीतिक दलले अहिलेसम्म परम्परागत प्रक्रिया छाड्न सकेका छैनन्। कार्यालयको दैनिक कार्यसञ्चालनमा आइटी प्रयोग गर्न सुरु गरे पनि यसको विकासमा कुनै चासो देखाएका छैनन्।
पछिल्लो पुस्ताका लागि आइटी प्रयोग अनिवार्य बनिसक्दा पनि मुलुक निर्माण र सञ्चालन गर्ने दलले त्यसलाई प्राथमिकतामा राखेका छैनन्। पार्टी सञ्चालन गर्न विभिन्न समिति र विभाग बनाएका दलले अहिलेसम्म आइटी समिति गठन गरेका छैनन् । सबैले आफ्नो वेवसाइट बनाए पनि सञ्चालनमा छैनन्।
प्रमुख दलको केन्द्रीय कार्यालयमा कम्प्युटरको प्रयोग हुने गरे पनि नेताहरू इमेल, इन्टरनेटमा अभ्यस्त छैनन्। केन्द्रीय तहका अधिकांश नेता कम्प्युटर चलाउँदैनन्।
तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का नेता सर्वेन्द्रनाथ शुक्ल मुलुकको हावापानी र जलवायुका हिसाबले आइटी क्षेत्रको विकास गर्न सकिन्छ भन्ने पार्टीको दृष्टिकोण रहे पनि ध्यान पुर्यालउन नसकेको लाचारी पोख्छन्। 'आइटी क्षेत्र विकास गर्न अहिलेसम्म छुट्टै समिति गठन गरेका छैनौं,' उनी भन्छन्, 'अध्यक्षबाहेक पार्टीका सबै पदाधिकारी कम्प्युटर प्रयोग गर्नुहुन्छ।'
उनका अनुसार तमलोपाले आइटीको प्रयोग व्यापक गरेको छ। जनतासँग यसलाई जोड्नुपर्छ भन्ने सोच छ भए पनि छुट्टै समिति बनाएर अघि बढ्ने विषयमा धेरै ध्यान पुगेको छैन।
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी २१औं शताब्दीमा कुनै पनि पक्षले आइटी विकास र विस्तारलाई उपेक्षा गरेर अघि बढ्न नसक्ने बताउँछन्। तर, त्यसको विकास र विस्तारमा आफ्नो पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको स्वीकार्न पछि पनि पर्दैनन्। 'पार्टीले लिने नीति, उद्देश्य र लक्ष्य जनस्तरसम्म पुर्या उने र जनताको जीवनस्तरसँग जोड्ने गरी काम भएको छैन,' उनी भन्छन्।
पार्टीले गठन गरेको प्रचार विभागले नै आइटी क्षेत्रलाई समेट्ने उनको धारणा छ। 'यसको विकास र विस्तार गर्दै जनताको जीविकोपार्जनसँग जोड्नुपर्छ,' उनी थप्छन्, 'त्यो काम प्रचार विभागले गर्छ, छुट्टै समिति गठन गरेको छैन।'
कांग्रेसका आधाभन्दा बढी केन्द्रीय सदस्य अहिलेसम्म कम्प्युटर प्रयोग गर्न जान्दैनन् भने पार्टीले सञ्चालनमा ल्याएको वेबसाइटलाई पनि निरन्तरता दिन सकेको छैन।
एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली एमालेले आइटीलाई उच्च प्राथमिकतामा राखेको बताउँछन्। २१औं शताब्दी आइटीको युग भएको भन्दै उनी जनतालाई सुसूचित गर्ने, श्रमलाई सरकार बनाउन र जनजीवनसँग उत्पादनलाई जोड्ने पार्टीको नीति रहेको बताउँछन्। 'एमालेले आइटीलाई उच्च प्राथमिकतामा राखेको छ,' उनी भन्छन्, 'सूचना, श्रम र उत्पादनलाई एमाले जनतासँग जोड्न चाहन्छ।'
पार्टी र नेतृत्वले पनि आइटीको अधिकतम प्रयोग गर्दै आएको जानकारी दिँदै ज्ञवाली भन्छन्, 'पुस्तान्तरणले केही समस्या देखिनु अस्वाभाविक होइन। तर, हाम्रा केन्द्रीय तहका सबै नेता इमेल, इन्टरनेट उपयोग गर्नुहुन्छ।' धेरै एमाले नेताले आफ्नो नाममा वेबसाइट बनाएका छन्। तर, पछिल्लो समय धेरै नेताका साइट सञ्चालनमा छैनन्।
नेकपा मालेका महासचिव सीपी मैनाली विज्ञान प्रविधिको अधिकतम सदुपयोग गर्दै जनताको जीवनस्तर सुधार गर्नुपर्ने पार्टीको नीति रहेको बताउँछन्। 'प्रचार समितिले नै आइटी क्षेत्रको विकास, विस्तारमा पार्टीको धारणा तय गर्ने छ,' प्रचार समितिमार्फत् पार्टीको नीति तथा कार्यक्रम जनस्तरसम्म पुर्यारउने गरेको जानकारी दिँदै उनी भन्छन्।

No comments: