Tuesday, February 5, 2013

धनी मानिस अत्यधिक दुःखी


धनी हुनु आफैँमा सजिलो कुरा होइन् । निरन्तरको मेहनत र अथक प्रयत्नपछि मात्र थोरै मानिसले धनीको पगरी गुथ्न सफल हुन्छन् । तर, जति मानिस धनी हुन्छ त्यति नै ऊ दुःखी बन्छ भन्दा धेरैले पत्यार नगर्न सक्छन् । हालै सार्वजनिक गरिएको एक प्रतिवेदनले यस्तै कुराको खुलासा गरेको छ ।
‘दि मिलिनरिज ह्यापिनेस रिर्पोट’ ले बिहीबार सार्वजनिक गरेको सो प्रतिवेदनले सर्वाधिक धनी मानिस निकै दुःखी हुने देखाएको हो ।
‘जति तपाई धनी हुनुहुन्छ त्यति नै थोरै तपाई खुसी हुनुहुन्छ,’ सांघाईमा रहेको ह्युमन रिसर्च इन्स्िटच्युटले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ । एक करोड चिनियाँ युआन भएका पाँच सय ५१ चिनियाँ लखपतिमाझ गरिएको सो सर्बेक्षणमा औसत चिनियाँ लखपति दैनिक मुस्किलले साढे ६ घन्टा सुत्छन् ।
चिनियाँ लखपति आफ्नो स्वास्थ्य समस्याप्रति निकै असन्तोष रहने गरेको पनि सो अध्ययनले देखाएको छ । त्यस्तै कामको बोझका कारण परिवारलाई समय दिन नसकेका ती लखपतिले अहिले परिवारलाई विशेष प्राथमितामा राख्न चाहेको पनि अध्ययनमा देखाइएको छ ।
औसत ३७ बर्ष उमेर पुगेका र आफ्नै प्रयत्नमा धनी बनेका चिनियाँ महिला अविवाहित रहने सम्भावना बढी भएको पनि अध्ययनले खुलासा गरेको छ । त्यस्तै, अध्ययनमा सहभागी औसत ३५ प्रतिशत महिला सम्बन्धविच्छेद गर्ने गरेको वा एक जीवन बाँच्ने निर्णयमा पुगेको बताइन्छ । यो तथ्यांक पुरुष सर्वेक्षणको तुलनामा दोब्बर भएको पनि जनाइएको छ ।
सर्वेक्षणमा सहभागी चिनियाँ लखपतिको औसत उमेर ३८ बर्ष रहेको र उनीहरु ४० बर्षको उमेरमा अत्यधिक धनाढ्य कहलिने गरेको प्रतिवेदनमा जनाइएको छ । यो उमेरका लखपतिसँग कुल सम्पत्तिको १ करोड ६० लाख अमेरिकी डलर रहेको बताइन्छ । यसअघि सन् २०११ मा एक म्यागेनिले १ हजार चिनियाँ उच्च धनाढ्यमाझ गरेको सर्वेक्षणमा ५५ प्रतिशत निनियाँले चीन छाड्ने प्रक्रियामा रहेको वा सोबारे गम्भीर रुपमा सोचेको अध्ययनमा जनाइएको थियो । ‘हामीले असुरक्षाको अनुभव महसुस गरेका छौं,’ गत नोभेम्बरमा सार्वजनिक गरिएका सो रिर्पोटमा उल्लेख छ ।- एजेन्सीको सहयोगमा

No comments: