Tuesday, February 12, 2013

खाना पकाउने ग्यासको भाउ बढ्यो

काठमाडौं, फाल्गुन १ - नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको भाउ वृद्धि गरेको छ ।
अब ग्यासको भाउ प्रतिसिलिण्डर २१ सय रुपैयाँ पुगेको छ । घरायसी प्रयोजनका लागि सरकारले प्रतिसिलिण्डर ५ सय ५० रुपैयाँ अनुदान दिने भएको छ । सरकारले अनुदान दिएपछि सर्वसाधारणका लागि प्रतिसिलिण्डर १५ सय ५० रुपैयाँ पुगेको छ । अनुदान पाउँदा पनि अहिलेको मुल्यमा ग्यास प्रतिसिलिण्डर ८० रुपैयाँ महङ्गो पर्ने भएको छ ।
व्यावसायिक प्रयोजनका लागि भने २१ सय रुपैयाँ नै लाग्नेछ । निगमलाई अहिले प्रति सिलिण्डर ५ सय ८८ रुपैयाँ घाटा थियो । निगमका अनुसार जनवरीमामात्रै एलपी ग्यासमा ८० करोड रुपैयाँ घाटा थियो ।
दुई रंगको सिलिण्डर पनि आजैदेखि
निगमले मंगलबारदेखि नै लागु हुनेगरी दुई रंगको सिलिण्डर प्रयोगमा ल्याएको छ । घरायसी उपभोक्तालाई राहत दिनेगरी सरकारले दुई रंगको सिलिण्डर प्रयोगमा ल्याएको हो ।
घरायसी प्रयोजनका लागि रातो सिलिण्डर प्रयोग हुने छ भने व्यावसायिक प्रयोजनमा निलो । चार जनासम्मको परिवारले हरेक महिना एक सिलिण्डरको अनुदान पाउनेछन् ।
अनुदान कसरी पाइन्छ ?
घरासयी प्रयोजनका लागि ग्यास खरिद गर्दा तत्काल अनुदान पाइँदैन । सरकारले प्रदान गरेको खरिद कार्डअनुसार बिल तोकेको बैंकमा पेस गरेपछि अनुदान पाइन्छ । अनुदान दुई महिनाभित्र लिइ सक्नुपर्छ । निगमले कुन बैंकबाट अनुदान दिने भने निर्णय गरेको छैन ।

No comments: