Thursday, February 7, 2013

बाबुराममा राणाको प्रेतः ओली

काठमाडौं, माघ २५ - एमाले नेता केपी शर्मा ओलीले प्रधानमन्त्री बाबुराम भट्टराईमा राणाको प्रेत जागेको टिप्पणी गरेका छन् । जननिर्वाचित प्रधानमन्त्रीले निरंकुश हुन नचाहने उनको भनाइ थियो ।
'बाबुरामजीको शरीरमा राणाको प्रेत जागेको छ,' प्रेस चौतारीले बिहीबार राजधानीमा गरेको अन्तर्क्रियामा उनले भने, 'उनको वरिपरि घुमेको प्रेतलाई कांग्रेस एमालेको आन्दोलनले हटाउँछ ।' भट्टराई राणाको प्रेत बोक्ने अन्तिम प्रधानमन्त्री हुने ओलीले उल्लेख गरे ।
नेता ओली प्रधानमन्त्री हटाउन ठूलो आन्दोलन गर्न आवश्यक नभएको बताए । 'राणा, पञ्चे र राजा फ्यालेका एमाले कांग्रेसलाई अहिलेका प्रधानमन्त्री हटाउन ठूलो कसरत गर्नै पर्दैन,' उनले भने, '२ सय ४० वर्षको राजा फ्याल्नेले पोहोर प्रधानमन्त्री भएको गोरखाको बाबुरामलाई फ्याल्न के गाह्रो ? यीनका जरा टक्टक्याएर फ्याल्छौं ।'
बाबुराम सरकार कामचलाउसम्म हैसियत नभएको ओलीको भनाइ छ । 'माओवादी, मधेसवादी, मन्त्रीवादी, भ्रष्टवादीको सरकार त कामचलाउको हैसियतमा पनि छैन,' सरकारको आलोचना गर्दै उनले भने, 'यो त कामचलाउभन्दा तल्लो स्तरको नकच्चरो र लबस्तरो सरकार हो ।'
मंसिर ७ गते चुनाव गर्ने घोषणा गरेर आफ्नै मिति तोके पनि प्रधानमन्त्रीले राजीनामा नदिएकोमा ओलीको भनाइ छ । कांग्रेस-एमालेको आन्दोलनलाई सरकार केन्द्रित भनेकोमा उनले रोष प्रकट गरे । 'राजनीतिक गाँठोको बाधक सरकार नै हो, सरकार नहटेसम्म गाँठो फुक्दैन,' उनले भने, 'कमसेकम गतिरोध तोडियोस् भन्दा सरकारका लागि आन्दोलन भन्ने गरिन्छ ।'
ओलीले वर्तमान सरकारको पक्षमा बोल्ने सवै स्वार्थी भएको आरोप लगाए । 'कोही पनि देशभक्त, लोकतन्त्रवादीले सरकारको समर्थन गर्दैनन्,' उनले भने, 'जसले समर्थनमा बोल्न ऊ आत्मकेन्द्रित हो, स्वार्थी हो ।'
एमाओवादीको नयाँ नाम 'नावाकाद'
ओलीले एमाओवादी कम्युनिष्ट शक्ति नभएको दाबी गरे । 'मैले पहिल्यै भनेको थिएँ यो पार्टी कम्युनिष्ट होइन,' उनले एमाओवादीको नाम जुराए, 'यो 'नावाकाद' अर्थात् नाममा बामपन्थी काममा दक्षिणपन्थी हो ।'
एमाओवादीमा विचार, सिद्धान्त, नीति र कार्यक्रम नभएको उनले जिकिर गरे । एमाओवादीले भन्ने गरेको उत्पादन क्रान्ति 'जनतासँग पैसा माग्न उत्पादन दस्ता' भएको उनको आरोप थियो ।
हेटौंडामा भएको महाधिवेशनलाई उनले नौटंकीको संज्ञा दिए । नयाँ विचार नआउने, नयाँले जिम्मेवारी नपाउने, पुरानैको भाग र टोपी (पद र जिम्मेवारी) नै हुने हो भने महाविधेशनको कुनै अर्थ नहुने उनको भनाइ थियो ।
भोलिको प्रदर्शन 'रिहर्सल'
ओलीले काठमाडौंमा शुक्रबार हुने विपक्षीको जनसभा साँच्चीकै शक्ति प्रदर्शन नहुने बताए । 'साँच्चीकै प्रदर्शन कस्तो हुन्छ ज्ञानेन्द्रलाई सोध्नुहोस्,' उनले भने । कांग्रेस-एमालेले साँच्चै आन्दोलन गर्दा जनता घरमा नभेटिने, सडकमामात्र भेटिने अवस्था आउने ओलीको भनाइ थियो ।
हामीले लेखेको ज्ञानेन्द्रले पढे
ओलीले २०६२/६३ को जनआन्दोलन टुंग्याउने ०६३ वैशाख ११ गतेको बक्तव्य दलहरुले लेखेको खुलासा गरे । 'हामीले ज्ञानेन्द्रले लेखेको बक्तव्य मानेनौं,' ओलीले विगत सम्झे, 'हामीले लेख्यौं, ज्ञानेन्द्रले पढे ।'

No comments: